सर्लाही, १४ भदाै । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन् ।
दूतावासका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ । राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरूले नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए ।
चिनियाँ राहत सामग्रीमा के-के छन् ?
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमान करिब ३ घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन् । विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ ।
विपद् प्रभावितहरूका लागि ल्याइएका सामग्रीहरूमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।
नेपाल र चीनको सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोपछिको प्रतिकार्यमा सघाउन चीनले यो आपत्कालीन राहत र विशेषज्ञ टोली पठाएको हो।

