सर्लाही, १४ भदाै । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् ।

विदेशमन्त्री जयशंकरले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

त्यस्तै, डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरणसहितको फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ ।

दूतावासका अनुसार, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, सरसफाइका सामग्री लगायतका राहत सामग्री पनि नेपाल आइपुगेको छ । यो भारतले नेपाल पठाएको चौथो खेप सहायता हो ।

बाढीपहिरोले सडक र पुलहरूमा क्षति पुर्‍याएको अवस्थामा यातायात सुचारु गर्न भारतले संरचनागत सहयोग पनि पठाएको छ ।

विदेशमन्त्री जयशंकरका अनुसार, २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरणहरू बोकेका १६ वटा ट्रकहरू नेपाल प्रस्थान गरिसकेका छन् ।

यसका साथै, थप ७ वटा बेली ब्रिजका उपकरणहरू र ती जडान गर्ने प्राविधिक टोलीहरू पनि छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन् ।

हालसम्म ६८.५ टन राहत सामग्री काठमाडौंमा

भारतले विपद्को यस घडीमा हालसम्म कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ ल्याइसकेको जनाएको छ । यसअघि पठाइएका सामग्रीहरूमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट र अन्य प्राविधिक उपकरणहरू समावेश रहेको विदेश मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *