सर्लाही, १४ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका १७१ जनामध्ये २२ जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाका १७१ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको थियो । तीमध्ये आजसम्म २२ जना टेलिफोनमार्फत परिवारको सम्पर्कमा आएका हुन् ।
अझै सप्तरीका ४५, पर्साका ३९, बाराका २३, रौतहटका १७, महोत्तरीका १७, सर्लाहीका १५, सिरहाका १० र धनुषाका पाँच जना सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ ।
प्रहरीका अनुसार सम्पर्कमा आउनेमा पर्साको पोखरिया नगरपालिका–५ का ओजिर अन्सारी, वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह र स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता रहेका छन् ।
त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास र श्यामलाल मोक्तान तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि परिवारको सम्पर्कमा आएका छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव र इन्जिनियर विपीनकुमार मण्डल तथा धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाकी दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार पनि सम्पर्कमा आएका छन् ।
सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकीसमेत टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए ।
मधेसका विभिन्न जिल्लाबाट नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि प्रहरीले खोजी तथा पहिचानका लागि विवरण सङ्कलन गरिरहेको छ ।
रोजगारी, व्यवसाय तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका मधेसका नागरिक बाढी तथा पहिरोबाट प्रभावित भएपछि परिवारजन चिन्तित बनेका छन् ।
सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई जानकारी गराउन प्रहरी वरिष्ठ उपरीक्षक ढकालले आग्रह गरेका छन् ।
