सर्लाही, १६ भदाै । मधेश प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको राहत मङ्गलबार पठाउने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि मधेश प्रदेश सरकारले गर्नुपर्ने आवश्यक सहयोगका विषयमा छलफल गरिएको गृह, सञ्चार तथा कानुनमन्त्री महतोले जानकारी दिनुभयो ।
मन्त्री महतोका अनुसार मधेश सरकारले मङ्गलबार सात हजार थान कम्बल र ७०० थान अस्थायी आवासका लागि टेन्ट पठाउने निर्णय गरेको छ ।
बैठकमा बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत सामग्री उपलब्ध गराउने तथा विपद्का कारण विस्थापित परिवारको व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन थालेको हो । पहिलो चरणमा रु। ५५ लाख पठाइएको थियो भने दोस्रो चरणमा कम्बल र टेन्ट पठाउने निर्णय गरिएको छ ।
आगामी दिनमा राहतका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा मंगलबार पुनः बैठकमा छलफल गरिनेछ,” उहाँले भन्नुभयो ।
बैठकमा विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा तथा मानवीय सहायता उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएकाले आवश्यक सहयोगलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत जोड दिइएको थियो ।
बैठकमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका पदाधिकारी तथा सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो ।
