सर्लाही, २७ भदाै । भदौ १० गते भोटेकोशी नदीको बिनाशकारी बाढीमा परेर बेपत्ता भएका सर्लाहीको लालबन्दीका तीन जनाको शुक्रबार कुशको शव बनाइ अन्त्येष्टि गरिएको छ ।
रसुवा जिल्लास्थित तीर्थस्थल गोसाइकुण्ड जानेक्रममा आफूहरु सवार गाडीसहित सम्पर्कविहीन भएका लालबन्दी नगरपालिका –५, मेजरगन्जका ५२ वर्षीय चिरन्जीवी खतिवडा, ५० वर्षीय द्वारिकाप्रसाद दङ्गाल र ४९ वर्षीय कृष्णप्रसाद धमलाको कुशको शव बनाइ अन्त्येष्टि गरिएको हो ।
खतिवडाको लालबन्दी –५ मा रहेको झिरझिरे दह तथा दङ्गाल र धमलाको सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमदी नदीमा अन्त्येष्टि गरिएको हो ।
उहाँहरुसँगै बेपत्ता गाडीधनी लालबन्दी नगरपालिका -९, बस्तीपुर घर भइ काठमाडौँ बस्ने ५२ वर्षीय माधव काफ्ले र उहाँका छोरा २२ वर्षीय अनुज काफ्लेको भने काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेला भर्न र दर्शन गर्न भनी गएका पाँचजना भदौ १० गते बिहान ९ बजेपछि सम्पर्कविहीन हुनुहुन्छ । पन्ध्र दिनसम्म कुर्दा पनि सम्पर्कविहीनहरुको अवस्था थाहा हुन नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।
सम्पर्कविहीन रहेका चिरन्जिवी खतिवडाका बुवा कृष्णप्रसाद खतिवडाले छोरा जीवितै फर्किएर आउने आश नरहेकाले अन्त्येष्टि गरिएको बताउनुभयो ।
भदौ १० गते बिहानसम्म टेलिफोनमा सम्पर्क भएकाहरुको परिवारका सदस्य बाढीपछि एकाएक सम्पर्कविहीन भएकाहरु पन्ध्र दिनसम्म पनि जीवितै फर्कने आसमा बसेका थिए ।
दुई साता बित्दासमेत अवस्था थाहा हुन नसकेपछि सास र लाश दुवैको आस मार्दै परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।
दाहसंस्कारमा सहभागी मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीले एकै ठाउँको पाँच जना बाढीमा परेर बेपत्ता हुँदा लालबन्दीवासीमा गहिरो चोट परेको बताउनुभयो ।
बाढीमा परेर सम्पर्कविहीन भएकाहरुको अन्त्येष्टिमा जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, साथीसङ्गी, सञ्चारकर्मी, गाउँलेलगायत उल्लेख्य रुपमा सहभागी भएका छन् ।
बाढीमा परेर बेपत्ता भएकाहरु अब जीवितै फेला पर्ने आश मर्दै गएको भन्दै सर्लाहीमा एकपछि अर्को बेपत्ता व्यक्तिहरुको आ–आफ्नो रीतिरिवाज अनुसार अन्त्येष्टिको संस्कार गर्न थालेका छन् ।
