सर्लाही, ११ असाेज । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार राति घरबाट पक्राउ गरेको छ । नेपालको इतिहासमा पूर्वप्रधानन्यायाधीश समातिएको यो पहिलो घटना मानिएको छ ।
तर देशको कानुन कार्यान्वयन गराउने संस्थाकै प्रमुख रहिसकेका यति हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे यति बेलासम्म न त प्रहरीले खुलाएको छ, न कुनै सरकारी निकायहरू यसबारे खास आधिकारिक रुपमा बोलेका छन् ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’पछि कार्यालयमा ल्याएर राखिएको अनलाइनखबरलाई बताएका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । रातारात जबरालाई पक्राउ किन गरियो भन्ने प्रश्नमा एसएसपी खड्काले भनेका छन्, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’
प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले पनि आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’
शनिबार मध्यराति भएको यो घटनाले फेरि सरकारी कामकारबाहीमाथि प्रश्न उठेको छ । चोलेन्द्र शमशेर प्रधानन्यायाधीश हुँदादेखिकै विवादित पात्र हुन् । अहिले पदभन्दा बाहिर रहेका बेलामा पनि उनले शक्तिको चलखेल गरेका गाइँगुइँ चलिरहेकै छन् । न्यायालयमा आफ्नो विरासतको फाइदा उठाउँदै उनले त्यहाँ आफ्नो प्रभाव विस्तार गर्दै आएको कुरा न्यायालयलाई नजिकबाट बुझ्नेहरूका लागि नौलो विषय रहेन ।
तर उनलाई जुन तरिकाले मध्यराति पक्राउ गरियो त्यसले कानुनी शासनको प्रक्रियामाथि प्रश्न उठेको छ । मुलुकको पूर्वप्रधानन्यायाधीश अनि हाल अवकाश जीवन बिताइरहेका एक नागरिक समात्न जुन कारण दिन प्रहरीले सक्नुपर्ने हो, त्यो यतिन्जेलसम्म दिन सकेको छैन ।
