सर्लाही, ११ असाेज । लगातारको वर्षाले सातवटा खोला नदीको जलसहत खतराको तह पार भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार म्याग्दीको मंगलघाटमा म्याग्दीखोला, पर्वतको मोदी बेनीमा कालीगण्डकी, लमजुङको गरमबेसीमा चेपे खोला, चितवनको कालीखोलामा त्रिशूली, देवघाटमा नारायणी र बनकट्टामा रिउ खोलाको जल सतहले खतरा तह पार गरेको हो ।
महाशाखाका अनुसार म्याग्दी खोलाको जलसतह ५.४२ मिटर पुगेको छ । यसको सतर्कता तह र ३.६ मिटर र खतरा तह ४.५ मिटर हो ।
त्यस्तै पर्वतको काली खोलाको सतर्कता तह ७ मिटर र खतरा तह ८.२० मिटर छ । अहिले कालीखोलाको जलसतह १०.३४ मिटर पुगेको छ ।
बाँके, पाल्पा, म्याग्दी, बाग्लुङ, तनहुँ, लमजुङ, चितवन, मकवानपुर, काभ्रे र कपिलवस्तुका विभिन्न खोला नदीमा पनि जलसहत बढेर सतर्कता तह पार गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणी नदीका सहायक नदीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
