सर्लाही, १३ असाेज । नेपालमा रेबिजको प्रभाव दिनानुदिन बढदै गएको छ । जनावरले मानिसलाई टोक्ने क्रम बढदै गएपछ खोपको आभाव समेत बढेको छ । प्रत्येक वर्ष मागअनुसार आपूर्ति हुन नसक्नु र कहिलेकाहीँ खोप खेर जानुले प्रभावितहरूले समयमै खोप पाउन नसकेको पाइएको छ ।
पछिल्लो पटक स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले आर्थिक वर्ष २०८१÷८२ मा प्रत्येक प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई दुई लाख ६४ हजार भाइल रेबिजविरुद्धको खोप पठाएको थियो । सो अवधिमा २ लाख २१ हजारभन्दा बढी मानिसलाई जनावरले टोकेको थियो ।
एक जना संक्रमितका लागि कम्तीमा तीन भाइल खोप आवश्यक पर्ने भए पनि करिब एक लाख भाइल खोप अपुग भएको थियो । विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख दयानिधि पन्तले प्रदेशहरूको माग बमोजिम नै खोप पठाउने गरिएको बताए । उनले भने, ‘आवश्यकता अनुसार स्थानीय तहमा पनि खोप पठाउँछौँ ।
स्वास्थ्य संस्थामा एक जना मात्र सेवाग्राही आए पनि खोपको भाइल खोल्नुपर्ने भएकाले बाँकी डोज खेर जान्छ । त्यसकारण पनि खोप अपुग देखिएको हो ।’ नेपालमा जनावरको टोकाइ र रेबिज रोगको जोखिम लगातार बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा देशभर १ लाख १९ हजार ३ सय ९२ वटा टोकाइका घटना दर्ता भएकोमा २०८०÷८१ मा यो सङ्ख् या बढेर २ लाख १० हजार ३ सय १ पुगेको थियो ।
पछिल्लो आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा टोकाइका कुल घटना २ लाख २३ हजार ५ सय १० पुगेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार प्रदेशगत आधारमा हेर्दा २०८१÷८२ मा सबैभन्दा बढी बागमती प्रदेशमा ८० हजार १ सय ८५ जनावरको टोकाइका घटना दर्ता भएका छन् ।
यस्तै, कोशी प्रदेशमा ४२ हजार ९ सय ४, लुम्बिनी प्रदेशमा ३७ हजार १ सय ३५, मधेस प्रदेशमा २१ हजार ८०, गण्डकी प्रदेशमा १९ हजार २२, सुदूरपश्चिम प्रदेशमा १७ हजार ७ सय २८ र कर्णाली प्रदेशमा ५ हजार ४ सय ५६ वटा घटना अभिलेख गरिएका छन् ।
महाशाखाअन्तर्गत जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलले नेपालमा रेबिजको मुख्य स्रोत र जोखिमका कारणहरूबारे अध्ययन गर्दा कुकुरको टोकाइ नै सबैभन्दा ठुलो कारक देखिएको बताए । उनले भने, ‘कुल जनावरको टोकाइमध्ये करिब ९६ प्रतिशत घटना कुकुरकै कारण हुने गरेका छन् ।
यस रोगका कारण नेपालमा वार्षिक रूपमा करिब १०० जनाको मृत्यु हुने गरेको छ ।’ डा. पोखरेलका अनुसार नेपालको कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्छ, जसमा बालबालिकाहरू बढी प्रभावित हुने गरेका छन् ।
रेबिजको जोखिमस्तर र भौगोलिक वितरणलाई हेर्दा देशलाई न्यून, मध्यम र उच्च जोखिम क्षेत्रमा वर्गीकरण गरिएको छ । तराई तथा दक्षिणी भूभाग उच्च जोखिम क्षेत्रमा पर्छन् भने मध्यपहाडी भाग मध्यम र हिमाली क्षेत्र न्यून जोखिमको सूचीमा रहेका छन् । उच्च तथा मध्यम जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि समयमै उपचार तथा खोप सेवाको ठुलो आवश्यकता देखिएको छ ।
यो जोखिम न्यूनीकरण गर्न र टोकाइपछिको रेबिजविरुद्धको खोप सेवा सहज बनाउन देशभर कुल २८६ वटा सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
प्रदेशगत आधारमा कर्णालीमा ५८, कोशीमा ५४, गण्डकीमा ४८, लुम्बिनीमा ४३, बागमतीमा ३५ तथा मधेस र सुदूरपश्चिम प्रदेशमा २४–२४ वटा एआरभी (एन्टी–रेबिज भ्याक्सिन) सेवा केन्द्रहरू स्थापना गरिएका छन् । नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजजन्य मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य राखेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार सो अस्पतालमा मात्रै वार्षिक १६ देखि १८ जनासम्म रेबिज संक्रमितको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
करिब ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाटै हुने भएकाले समयमै सावधानी र सही उपचार नपाउँदा बिरामीले ज्यान गुमाउने गरेको सरुवा रोग विशेषज्ञहरू बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार पनि मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग नै सम्बन्धित छन् ।
उनले उच्च जोखिममा रहेका नागरिक, विशेष गरी बालबालिकालाई लक्षित गरी देशभरका २८६ वटा सेवा केन्द्रमार्फत रेबिजविरुद्धको खोप सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको बताए ।
चिकित्सकहरूका अनुसार कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नु हुँदैन ।
यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ र घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै पनि घरेलु पदार्थ लगाउनु हुँदैन ।
