सर्लाही, १४ असोज । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारको पैसा बाहिर निकाल्नको लागि नोटबन्दी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देश लुटेको पैसा बैंकिङ प्रणालीमा ल्याउन माग गरे ।
उनले भने, ‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरू शक्ति प्राप्त भयो । यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर यताकता सुनिँदै छ। हामीलाई थाहा छ यो पैसा कालो र यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नु पर्यो ।’
उनले आवश्यक गरे केही नयाँ नोट जारी गर्न माग गरे ।
उनले थपे, ‘यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ। यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यहीँ तुहाऔँ । भारतबाट हामीले सिकौँ। भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो ।’
न्यौपानेको यो प्रस्तावपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले लगत्तै बोलेर समर्थन जनाए ।
उनले भने, ‘उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोट हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोडदार रूपमा सरकारसँग माग गर्दछु ।’
नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सबै सांसदहरूको हस्ताक्षर दिनुपरे पनि आजै दिने घोषणा गरे। उनले थपे, ‘यो हजार र ५०० को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरुन्त गर्न माग गर्छु, यसको लागि सभामुखबाट पनि रुलिङ होस् ।’
