सर्लाही, १५ असोज । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे विदेश भ्रमणमा जाने एपछि संघीय संसद्को अधिवेशन स्थगित गर्नका लागि सिफारिस गरिएको खुलेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् अधिवेशन स्थगित गर्ने निर्णय गरेको थिएन । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदा यो विषय उल्लेख गरेका थिएनन् ।
तर, मन्त्रिपरिषद् बैठकलगत्तै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई र महासचिव पाण्डेले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई तारन्तार फोन गरेर अधिवेशन स्थगित गरिदिन आग्रह गरेका थिए ।
‘मन्त्रिपरिषद् बैठकले पहिला अधिवेशन स्थगितको निर्णय गरेको थिएन । पछि सभामुखज्यू र महासचिवज्यूको पटक–पटक टेलिफोन आयो, त्यसपछि थपिएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले रातोपाटीसँग भन्यो, ‘उहाँहरू विदेश जाने कार्यक्रम तय भएकाले जसरी भए पनि अधिवेशन अन्त्य गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीज्यूले सहमति जनाउनु भएको हो ।’
तर, अधिवेशन अन्त्यको सिफारिस भएको मन्त्रीहरूलाई भने थाहा थिएन । उनीहरूले विधेयक संसद्मा दर्ता गराउने तयारी गरिरहेका थिए । त्यसपछि प्रधानमन्त्रीका कार्यालयबाट अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी आएपछि आफू झसङ्ग भएका एक मन्त्रीले सुनाए ।
‘मेरो मन्त्रालयका २ विधेयक दर्ता गर्ने तयारीमा थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी आएपछि झसङ्ग भए,’ ती मन्त्रीले रातोपाटीसँग भने । ती मन्त्रीले मंगलबारको बैठकमा अधिवेशन अन्त्यबारे कुराकानी नभएको पनि बताए ।
सभामुख अर्याल, महासचिव पाण्डेसहितको टोली अन्तर व्यवस्थापिका संघ (आइपीयु)को बैठकमा सहभागी हुन तान्जिनिया जाने कार्यक्रम तय भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले आइतबार सभामुख अर्याल, महासचिव पाण्डेसहितको टोली विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको जानकारी रातोपाटीलाई दिए ।
