सर्लाही, १६ असाेज । प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री कार्यालयले सात महिनापछि आफ्नो आधिकारिक वेवसाइटमा प्रधानमन्त्री बालेनको टोलीमा संलग्न २५ जना पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टिममा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू पनि समेटिएका छन् ।
जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकार रहेका उल्लेख छ । त्यसैगरी बालेनको राजनीतिक सल्लाहकारमा असिम शाह छन् । कुमार असिम दुवैलाई मन्त्रीसरहको पद दिइएको छ ।
यसैगरी, अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्राडा जगदिश प्रसाद अग्रवाल छन् । उनी पनि मन्त्री सरहको पदमा आसिन छन् ।
त्यसैगरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन् । उनीहरूलाई राज्यमन्त्री सरहको सुविधा दिइएको विवरणमा उल्लेख छ ।
त्यसैगरी बालेनको प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट सरह) सुवाष शर्मा छन् । यस्तै, स्वकीय सचिवमा नविन भण्डारी (रा.प. प्रथम सरह) छन् ।
त्यसैगरी सहसचिव (रा.प. प्रथम) सरहका पदहरूमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक), र विश्व राई (विज्ञ- सामाजिक विकास) रहेका छन् ।
उपसचिव (रा.प. द्वितीय) सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ भने सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) नियुक्त भएका छन् ।
त्यस्तै, शाखा अधिकृत तथा अन्य प्राविधिक तथा प्रशासनिक तह (रा.प. तृतीय र अनंकित) मा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ्ग (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राज कुमार गौतम र बेनिस कार्की कार्यरत छन् ।





