सर्लाही, २० असाेज । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ ।

मन्त्रालयका अनुसार पिपरा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि नै अन्यत्र सरुवा गरिएको थियो । तर, सरुवा भएको निकायमा हाजिर नगरी उनी गाउँपालिकामै कार्यरत रहँदै आएका थिए ।

यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाउँपालिकाले हाजिर गराएको थिएन ।

सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले उनको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।

मन्त्रालयले पिपरा गाउँपालिकालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ ।

त्यस्तै, सरुवा भएका शाखा अधिकृतलाई समेत तत्काल सरुवा भएको निकायमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ । उनको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै गाउँपालिकाको खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *