सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असाेज । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन् । सुरक्षासम्बन्धी सूचना चुहावटको आरोपमा निलम्बन गरिएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएलगत्तै उनी टेकुस्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए ।

त्यसपछि राणा पक्राउ परेको सूचना बाहिरिएको थियो । मन्त्रालयस्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको हो । त्यसको सूचना गृह मन्त्रालयमार्फत सशस्त्र मुख्यालय पठाएको छ ।

सरकारले पूर्वप्रधानन्यायाधीश राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपुछ गर्न खोजेको थियोे । ‘विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको’ भन्दै प्रधानमन्त्री सचिवालयको ठाडो निर्देशनमा उनी पक्राउ परेका थिए ।

निलम्बित एआईजी दाहाल राणाका नातेदार हुन् । गृह मन्त्रालयले दाहाललाई रातारात राणालाई भेट्न जानुपर्ने कारणबारे सोधपुछ गरेको थियो ।

उनले पारिवारिक व्यक्ति भएका कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुगेको भनेका थिए । यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट दाहालबाटै भएको दाबी गर्दै आएको थियो ।

दाहाल निलम्बनमा परेको रास्वपाबाट प्रतिनिधिसभा सदस्य रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पुष्टि गरेका छन् । ‘अलिक पहिल्यै गर्ने कुरा थियो, विधिसम्मत गर्दा केही ढिला भएको हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *