सर्लाही, २० असोज । नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको जिम्मेवारी र भूमिकालाई औपचारिक रूपमा स्पष्ट पारेको छ ।
५ देखि ८ असोजसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने व्यवस्था गरिएको छ ।
यसअघि सोही बैठकले भण्डारीलाई वरिष्ठ नेता चयन गरेको थियो ।
अपानीमा उल्लेख भएअनुसार भण्डारीले केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउनेछिन् ।
उनलाई अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीले सही र समयोचित निर्णय लिन योगदान पुर्याउने जिम्मेवारीसमेत तोकिएको एमालेले जनाएको छ ।
