सर्लाही, २७ असोज । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने तर त्यसमा रहेका विवादित विषय संसदीय छानबिनमार्फत टुङ्ग्याउने निर्णय गरेको नेकपा सांसद अक्कल रावलले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाबाट अनुमोदन हुने गरी संसदीय छानबिन समिति गठन गरिनेछ । समितिको छानबिनपछि १५ कात्तिकभित्र पूरक बजेट ल्याएर बजेटमा देखिएका बेथिति हटाउने सहमति भएको रावलले बताए । ‘अहिले आइतबार सार्वजनिक भएको बजेट नै पारित गर्ने तर पुँजीगत खर्च नगर्ने सहमति भएको छ,’ सांसद रावलले भने ।
आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि सार्वजनिक भएको सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र सबैभन्दा बढी असन्तुष्टि देखिएको थियो ।
नेकपाकै सांसदहरूले बजेटमा बिचौलियाको प्रभाव, कमिसनको खेल र पहुँचका आधारमा योजना छनोट गरिएको बताएका थिए । तर, आज बसेको संसदीय दलको बैठकले भने सोही विवादित बजेट पारित गर्ने निर्णय गरेको हो ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । तर, बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद बढेपछि प्रदेशसभाको बैठकसमेत प्रभावित भएको थियो ।
मंगलबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि सारिएको छ । नेकपा संसदीय दलमा भएको सहमतिपछि बजेट आजै पारित गर्ने तयारी छ ।
