सर्लाही, २८ असोज । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागेको प्रमाण संसदीय सुनुवाइ समितिमा पेस गरेका छन् ।
आज समितिको बैठकमा उनले उक्त प्रमाण पेस गरेका हुन् । उनले सन् २०२६ को मार्च २५ मा पीआर त्यागेको प्रमाण पेस गरेका हुन्।
प्रस्तावित राजदूत थापाविरुद्ध जापानको स्थायी आवासीय अनुमति रहेको भन्दै उजुरी परेको थियो । उजुरीकर्ताले राजदूत पदका लागि जारी गरिएको पूर्वयोग्यतासम्बन्धी सूचनामा कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति अयोग्य हुने स्पष्ट व्यवस्था रहेको उल्लेख गरेका थिए ।
थापाले सन् २०१८ मा जापानको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूसँग पीआर रहेको र त्यसपछि जापानमा बस्दै आएको बताएका थिए । उजुरीमा जापानको कानागावा प्रिफेक्चरमा उनको घरसमेत रहेको उल्लेख गरिएको थियो ।
संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो योग्यता, अनुभव र कार्ययोजना प्रस्तुत गर्दै थापाले नेपाल र जापानबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
