सर्लाही, १५ माघ । प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि मधेश प्रदेशमा चार हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको जनाइएको छ ।
मधेशको ८ वटै जिल्लामा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन प्रहरीले निर्वाचन सुरक्षा योजना तयार पारिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जानकारी दिए ।
सबै जिल्लाका मतदान स्थल निरीक्षणपछि प्रहरीले सुरक्षा चुनौतीको अवस्थाका आधारमा तिनलाई तीन भागमा वर्गीकरण गरेको छ ।
जेन– जी आन्दोलनपछि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदान स्थललाई प्रहरीले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको छ ।
मधेश प्रहरी कार्यालयले जनाए अनुसार ८ वटै जिल्लाका कुल मतदान केन्द्रमध्ये खासगरी सुरक्षा चुनौती रहेका स्थलहरूलाई तीन भागमा वर्गीकरण गरेर त्यसैअनुरुप सुरक्षा रणनीति तयार पारिएको प्रहरीको भनाइ छ ।
सुरक्षा चुनौती भएको केन्द्रलाई अति संवेदनशील र नभएको ठाउँको मतदान स्थललाई सामान्य वर्गीकरणमा गरिएको छ । प्रदेश प्रहरीका अनुसार मधेशका एक हजार २ सय ४६ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।
प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अति संवेदनशील वर्गीकरण गरिएको मधेश प्रहरीका प्रवक्ता थापाले बताए ।
मधेशको ८ वटै जिल्लामा कुल १६० मतदान केन्द्रलाई मात्रै सामान्य वर्गीकरणमा राखिएको छ । सुरक्षाको दृष्टिकोणले सप्तरी जिल्लाका मतदान केन्द्र सबैभन्दा बढी ‘रेड जोन’मा रहेको छ ।
सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सिराहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ र बाराका १४५ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ ।
८ वटै जिल्लामा ७६३ वटा मतदान स्थललाई संवेदनशीलको सूचीमा छ । सर्लाहीमा सबैभन्दा बढी १३१ मतदान स्थल संवेदनशील सूचीमा छ ।
सुरक्षा चुनौती भएको मतदान स्थलमा प्रहरी परिचालन गर्ने रणनीति तयार पारिएको छ । ८ वटै जिल्लामा व्यापक संख्यामा नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिने तयारी गरिएको छ ।
सुरक्षाका तीन वटै निकायबाट गरी मधेशमा ५० हजारभन्दा बढी संयुक्त सुरक्षा फौज खटाइने तयारी गरिएको बताइन्छ । मधेशमा करिब ४० हजार नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको छ ।
त्यस्तै सशस्त्र प्रहरीबाट १० हजार प्रहरी खटाउने तयारी गरिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशले जनाएको छ । यसको अलावा नेपाली सेना पनि परिचालन हुने छ ।

