सर्लाही, १९ साउन । जनता समाजवादी पार्टी सर्लाही जिल्ला कार्यसमितिद्वारा आइतबार कबिलासी नगरपालिका–१० सलेमपुरमा आयोजित पत्रकार सम्मेलनमा जसपाका मधेस प्रदेश अध्यक्ष एवं पूर्व प्रदेशसभा सदस्य अशोक यादवले सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्कासँगको सम्बादको सार्वजनिक अडियोको फोरेन्सिक जाचको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले, असार १९ गते राति ११ बजे मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भइरहेको अनियमितता र बेथितिका विषयमा एसपी खड्कासँग फोनमा भएको सम्बादको अडियो प्रस्तुत गर्दै राज्यसँग न्यायिक छानबिनको माग समेत गरेका छन् । नेता यादवले भने, मैले राज्यको निकायमा देखिएको बेथितिको सम्बन्धमा सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख तुलसी बहादुर श्रेष्ठलाई जानकारी गराएको थिएँ । तर एसपी खड्काबाट मैले अपमानजनक व्यवहार भोग्नुपर्‍यो । अडियोमा स्पष्ट सुनिन्छ, एसपी खड्काले पहिला मलाई अपशब्द प्रयोग गर्दै ‘साले’ भनेका छन् । उक्त अडियोले सरकारी संयन्त्रमा पदको दुरुपयोग र शक्ति प्रदर्शनको गम्भीर प्रश्न उठाएको भन्दै नेता यादवले दोषीमाथि कारवाही र निष्पक्ष अनुसन्धानका लागि प्रदेश सरकार, संघ सरकार लगायत गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् ।

असार १९ गते राति आफू सर्लाहीमै रहँदा प्रहरीले कानुन बिपरित आफ्नो घरमा छापा मारेको भन्ने प्रश्न उठाउँदै सो क्रममा आफ्ना छोरालाई कुटपिट गरि सख्त घाइते बनाएको र अहिले उनी उपचाररत रहेको नेता यादवले बताए । आफू र आफ्नो परिवारमाथि सर्लाही प्रहरी प्रशासनले गरेको दमनको समेत न्यायीक छानबिन हुनुपर्ने उनले बताए ।

“प्रहरीले मलाई फरार भनेर नश्लवादी मिडियामार्फत प्रचार गर्‍यो,” नेता यादवले भने, “जबकि म छोराको उपचारमा थिए ।” मधेसीहरूलाई हेप्ने प्रवृत्ति सर्लाही प्रहरीलाई तत्काल त्याग्न उनले चेतावनी दिदै भने, मधेस आन्दोलनको जगबाट देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अझै पनि मधेसी नागरिकमाथि दमन भइरहेको छ ।

नेता यादवले, आफुमाथि भएको अन्याय, अत्याचार र एसपी खड्काको भ्रष्ट आचरणको भण्डाफोर गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे । र मिडियाले सत्यको साथ दिनुपर्छ, उनले अपिल समेत गरे ।

न्यायका लागि चरणबद्ध आन्दोलन जारी रहेको बताउदै उनले साउन २० गते मलंगवामा विशाल लाठी जुलुस आयोजना गरिएको बताए । आफुमाथि लगाइएको झुठा मुद्दा बदनियतपूर्वक रहेकोले त्यसविरुद्ध कानुनी लडाइँ समेत लड्ने नेता यादवले घोषणा गरेका छन् । साथै मधेसको सिमानाकामा प्रहरी प्रशासनद्वारा चलाइने भ्रष्टाचारको अखाडाको अन्त्य गर्नु अति आवश्यक रहेकोले त्यसको अन्त्यको प्रण गरेका छौं, नेता यादवले जनाए ।

कबिलासीस्थित महेन्द्र नारायण निधि निवास कार्यक्रम अन्तर्गत विपन्न परिवारहरूको रकम निकासा पुर्व विपन्न परिवारहरूसँग प्रति घर ५० हजार रुपैया घुस रकम पूर्वाधार विकास कार्यालय मलंगवाका कर्मचारीले मागेको विषयलाई लिएर नेता यादव आक्रामक बनेका थिए । न्याय, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा लडाइँ जारी रहने नेता यादवले ठोकुवा गरे ।

पत्रकार सम्मेलनमा जसपा सर्लाहीका जिल्ला पदाधिकारीहरू, स्थानीय नेता तथा कार्यकर्ता, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

मुद्दा होइन, राजनीतिक षड्यन्त्र

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले आफू राजनीतिक षड्यन्त्रको शिकार बनेको गुनासो गरेका छन् । उनले सर्लाहीका प्रहरी प्रमुखसँगको भनाभनलाई आधार बनाएर आफूविरुद्ध झूठो मुद्दा लगाइएको दाबी गरेका छन् ।

आइतबार सर्लाहीको कविलासी नगरपालिका–६ स्थित आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यादवले भने, “मैले राज्यसंस्था र सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार र अनियमितता उजागर गर्दा उल्टै मलाई अपराधी देखाउने प्रयास भएको छ ।” सर्लाही जिल्ला अदालतमा यादवविरुद्ध आपराधिक उपद्रव अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार उनले जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका थिए। यसै मुद्दाको आधारमा अहिले यादव प्रहरीको फरार सूचीमा परेका छन्।

यादवको समर्थनमा जसपा सर्लाहीले पनि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले साउन २० गते विरोध र्याली, २१ गते मसाल जुलुस र २२ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। पार्टीले यसघि पनि जिल्लामा बिभिन्न बिरोध प्रदर्शनहरु, मसाल जुलुसहरु निकालिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *