सर्लाही, १८ बैशाख । भारत झारखण्डको राँची निवासी करिब ७ वर्षीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर रेकर्ड राखेका छन् ।
२९ किलोमिटरको दुरी उनले ९ घण्टा ५० मिनेटमा पार गरेका थिए । उनी पौडिँदै श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्म पुगेका थिए ।
यो दुरी पार गर्ने उनी विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस असाधारण उपलब्धिका लागि युनिभर्सल रेकर्ड्स फोरम (यूआरएफ)ले सिंहलाई कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ ।
ईशांकअघि यो कीर्तिमान तमिलनाडुका जय जसवन्तका नाममा थियो । उनले सन् २०१९ मा १० वर्षको उमेरमा श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्मको दूरी १० घण्टा ३० मिनेटमा पूरा गरेका थिए ।
राँचीको डोरन्डास्थित जवाहर विद्या मन्दिर श्यामली विद्यालयमा कक्षा ३ मा अध्ययनरत ईशांकले यो लक्ष्य हासिल गर्न धुर्वा बाँधमा दैनिक ४–५ घण्टा कडा अभ्यास गरेका थिए ।
