सर्लाही, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् । मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।
घाइतेहरुलाई इनरुवा, विराटनगर न्युरो तथा नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।