सर्लाही, २६ साउन । अमेरिकाले ५० प्रतिशत भन्सार लगाइदिएपछि भारत आहत बनिरहेका बेला त्यही नीति नेपालका लागि भने ठूलो अवसरका रूपमा उदाएको छ ।
अमेरिकाले भारतलाई ‘जस्तालाई त्यस्तै भन्सार’ (रेसिप्रोकल ट्यारिफ) बापत २५ प्रतिशत भन्सार लगाएको छ, जुन यही बिहीबारदेखि कार्यान्वयनमा आइसकेको छ । त्यस अतिरिक्त भारतले रुसबाट तेल किनिरहेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत भन्सार थपिदिएका छन् । ट्रम्पले कार्यकारी आदेश मार्फत थपिदिएको यो भन्सार आगामी २७ अगस्टदेखि लागु हुनेछ ।
तर, अमेरिकाले नेपाललाई भने १० मात्रै रेसिप्रोकल भन्सार लगाएको छ । यस्तो अवस्थामा भारतसँगको व्यापार वार्ता असफल भएर भारतमाथि ५० प्रतिशत नै भन्सार कायम भएको अवस्थामा नेपाल र भारतबीचको भन्सार दरमा ४० प्रतिशत फरक हुनेछ ।