सर्लाही, २८ साउन । पर्साको वीरगन्ज कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु भएपछि छानबिन समिति गठन भएको छ ।
कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएपछि सात सदस्यीय छानबिन समिति गठन गरिएको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए । उनका अनुसार वीरगञ्ज महानगरपालिका- २५ का २५ वर्षीय राहुल साह तुराहाको मृत्यु भएको हो । राहुल २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका थिए ।
मंगलबार बिहान ८:४२ बजेतिर राहुलको श्वासप्रश्वासमा समस्या आएको थियो । समस्या आएपछि उनलाई ८:४५ मा नारायणी अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा चिकित्सकले ११ बजेतिर मृत घोषणा गरेको डिएसपी लम्सालले बताए । चिकित्सकहरूले अन्त रिफर गरेको भए बाँच्ने भनेर स्थानीयले प्रदर्शन गरेका थिए । उक्त घटनापछि प्रशासन कार्यालयमा बैठकसमेत बसेको थियो । उक्त बैठकपछि स्थानीय तथा आफन्तले पोष्टमर्टम गर्न दिएर शव बुझ्ने सहमति गरेका हुन् ।
यस घटनापछि सात सदस्यीय छानबिन समिति गठन गरेको प्रमुख गणेश अर्यालले जानकारी दिए । उनकाअनुसार राहुल बिहान व्यायाम गरिरहेका थिए ।
‘बिहान पुसअप गरेका रहेछन् । एक्कासि गाह्रो भएर भित्तामा अडेस लगाएका रहेछन्,’ उनले भने, ‘त्यसको सात मिनेटभित्रै उनलाई नारायणी अस्पताल पुर्याइएको थियो ।’
अस्पतालमा भने आइसियू खाली थिएन । खाली नभएको सूचना पाएपछि कारागारमा रहेका बन्दीलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सिडिओ अर्यालले त्यहाँका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गरेको पनि उनले बताए ।
‘यता बिरामीलाई इमर्जेन्सीमै सिपिआर दिइँदै रहेछ । त्यसबीचमा अस्पतालमै आफन्त तथा स्थानीय आएर मेडिकल अस्पताल लग्ने भनेर पुगेका रहेछन् । तर केहीबेरमै उनको मृत्यु भएको थियो,’ सिडिओ अर्यालले भने, ‘यही विषयमा के-कस्तो भएको हो भनेर हामीले सात सदस्यीय समिति गठन भएको छ ।’
समिति सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा बनेको छ । समितिमा प्रहरी, जनप्रतिनिधि, मानव अधिकारकर्मी, मेडिकल एशोसिएसनका प्रतिनिधि, पत्रकार लगायतलाई समावेश गरी बनाइएको छ ।
उनीहरूलाई १५ दिनको समय अवधि दिइएको छ ।