सर्लाही, २१ साउन । गत आर्थिक वर्ष ०८२/८३ मा दुई खर्बबराबरको जीवन बिमा व्यापार भएको छ । नेपालमा सञ्चालनमा रहेका १४ ठुला र तीन लघु जीवन बिमा कम्पनीहरूले गत आवमा दुई खर्ब चार अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् ।
जीवन बिमा व्यवसाय पहिलोपटक दुई खर्बमाथि पुगेको हो । यो अघिल्लो आव ०८१/८२ को भन्दा १२.२४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ जीवन बिमाशुल्क संकलन भएको थियो ।
समीक्षा वर्षमा ठुला कम्पनीले दुई खर्ब एक करोड ९१ लाख र लघु कम्पनीले एक अर्ब २१ करोड आठ लाख शुल्क संकलन गरेका छन् ।
यस्तै, वैदेशिक रोजगार बिमाबाट तीन अर्ब ३६ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ, जुन तोकिएको अनुपातमा सबै कम्पनीलाई बाँडफाँट गरिन्छ । हाल बिमा कम्पनीहरूमा एक करोड ६७ लाख ९२ हजार दुई सय ३० पोलिसी सक्रिय अवस्थामा छन् ।
नयाँ व्यवसायमा २१ प्रतिशतको वृद्धि
समीक्षा वर्षमा नयाँ व्यवसाय अर्थात् प्रथम बिमाशुल्क संकलन भने २१ प्रतिशतले बढेको छ । अघिल्लो आव ०८१/८२ मा ४४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन भएको थियो । गत आवमा भने ५३ अर्ब ८७ करोड ६५ लाख रुपैयाँबराबरको नयाँ व्यवसाय भएको छ ।
समीक्षा वर्षमा नेपाल लाइफले सबैभन्दा धेरै ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा नेसनल लाइफले २४ अर्ब ६८ करोड ५७ लाख, तेस्रो स्थानमा रहेको एलआइसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख बिमाशुल्क संकलन गरेको तथ्यांक छ ।
