सर्लाही, २२ साउन । देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ । हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यसअनुसार ठूलो पानी परेन ।

गएराति गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई ठाउँमा तथा कोशी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भए पनि अरु ठाउँमा पानी परेन ।

आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा चर्को घाम लागेको छ । आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसुनी गतिविधि कमजोर देखिएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । तर आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि भने मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ । भोलि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ ।  

महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले वर्षा पूर्ण रूपमा रोकिएको अवस्था भने होइन ।

बीच–बीचमा वर्षाको मात्रा घटबढ भइरहने भएकाले विशेषगरी पहाडी तथा हिमाली जिल्लामा यात्रा गर्ने, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा हेरेर मात्रै आवश्यक योजना बनाउन महाशाखाको सुझाव छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *