दिल्ली आन्दोलनमा प्रदर्शनकारीसँगै पत्रकार पनि पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन २४, शनिवार २०८३ आश्विन २४, शनिवार २०८३ आश्विन २४, शनिवार

भारत, २४ असाेज । दिल्लीमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले केही पत्रकारलाई पनि प्रदर्शनकारीसँगै पक्रेको छ ।

पक्राउ गरिएका पत्रकारहरू न्यूजलोन्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्समा आबद्ध हुन् । 

न्यूजलोन्ड्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जब पत्रकारहरूले आफूहरू मिडियाबाट आएको बताए, तब उनीहरूलाई भनियो- तिमीहरू मिडियाकर्मी होइनौ । अनि उनीहरूको फोन खोसियो। प्रदर्शनकारी र पत्रकारसहित लगभग ३० जनालाई एउटै बसमा हालियो ।’

न्यूजलोन्ड्रीले विज्ञप्तिमा पत्रकारहरूको काम विरोध गर्नु नभई समाचार सम्प्रेषण गर्नु भएको उल्लेख गर्दै उनीहरूले प्रहरीलाई कुनै अवरोध नगरेको दाबी गरेको छ । 

विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘उनीहरूलाई किन पक्राउ गरियो? फोन किन जफत गरियो? दिल्ली प्रहरीले यसको जवाफ दिनुपर्छ र पत्रकारहरूलाई बिनात्रास काम गर्न दिनुपर्छ ।’

स्क्रोल डट इनले पनि आफ्ना एक पत्रकारलाई दिल्ली प्रहरीले आईटीओनजिकैबाट पक्राउ गरेको बताएको छ । 

उसले विज्ञप्तिमा भनेको छ, ‘उनी जन्तर मन्तरमा पनि थिएनन्। उनको प्रेस कार्ड स्पष्ट रूपमा देखिन्थ्यो। उनले प्रहरीलाई धेरै पटक आफू पत्रकार भएको बताए। र, पनि उनलाई जबरजस्ती भ्यानमा राखेर लगियो ।’

नवभारत टाइम्सका सम्पादक आशिष पाण्डेले पनि दिल्ली प्रहरीले आफ्ना दुई पत्रकारलाई पक्राउ गरेको तर पछि छाडेको बताएका छन् । 

उनले भनेका छन्, ‘हाम्रो टोलीसँग मिडिया परिचयपत्र थियो, जुन स्पष्ट रूपमा देखिन्थ्यो ।’ 

भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर निलम्बन माग गर्दै राजधानी दिल्लीका जन्तरमन्तर र कनट प्लेसमा ककरोच जनता पार्टीका समर्थकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । 

यस क्रममा प्रहरीले युट्युबर ध्रुव राठीसहित ककरोचका सयौँ समर्थकलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्दोलनमा सहभागी हुन दिल्ली विमानस्थल ओर्लिनेबित्तिकै प्रहरीले ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके, सह-संयोजक आशुतोष रान्का र सौरभ दासलाई पनि पक्राउ गरेको छ ।  

धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् । आन्दोलन स्थलमा बीएसएफका कर्मचारीसहित ३ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन् ।

नयाँ दिल्ली र हजरत निजामुद्दिन स्टेशनहरूमा आइपुग्ने २५० मेल र एक्सप्रेस रेल आज रद्द गरिएका छन् ।

४५ मेट्रो स्टेशन बन्द गरिएका छन् भने १० वटा हिरासत केन्द्र स्थापना गरिएका छन् ।

यसैबिच शुक्रबार राति १० बजेदेखि आज राति १० बजेसम्मका लागि इन्डिया गेट वरपर ४ किलोमिटर क्षेत्रभित्र इन्टरनेट बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *