काठमाडौँ, २५ कार्त्तिक । भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको विस्फोटमा मृत्यु भएकाको संख्या १२ पुगेको छ ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार १२ मृतकमध्ये २ महिला छन् ।
जसमध्ये दुई जनाको शव पहिचान भइसकेको छ भने बाँकीको डीएनए परीक्षण जारी छ ।
विस्फोटमा परी घाइते भएका २० जनाको उपचार भइरहेको छ ।
स्थानीय समयअनुसार सोमबार साँझ ६:५२ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै गुडिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो।
विस्फोटमा प्रयोग गरिएको सेतो आई २० कारको सीसीटीभी फुटेज पनि मंगलबार सार्वजनिक भएको छ ।
मेट्रो स्टेसन पार्किङबाट बाहिर निस्कँदै गरेको त्यो कारमा कालो मास्क लगाएका एक व्यक्ति बसिरहेको देखिएको छ । उनी पुलवामा निवासी डा. मोहम्मद उमर नबी रहेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार उमरले आफैँ मर्नेगरी कार विस्फोट गराएका थिए ।
कश्मीर प्रहरीले डीएनए परीक्षणका लागि पुलवामामा उनका आमा र दुई भाइलाई हिरासतमा लिएको छ ।
प्रारम्भिक प्रहरी अनुसन्धानमा विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको पाइएको छ ।
यसैबीच दुईदिने भ्रमणमा क्रममा भुटान पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले भने, ‘सिंगो देश दिल्ली विस्फोटबाट पीडित परिवारहरूको साथमा उभिएको छ। दोषीहरूलाई छाडिने छैन ।’
