सर्लाही, २७ कार्त्तिक । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले अब कर्मकाण्डी पत्रकारिता टिक्न नसक्ने बताएका छन् ।
बुधबार सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीका लागि आयोजित डिजिटल साक्षरता, लैंगिक संवेदनशील रिपोर्टिङ र गो–ग्रिन पहल विषयक तालिममा बोल्दै झाले समानुकूल र समाजमुखी पत्रकारिता गर्ने पत्रकार मात्रै अबको दिनमा अघि बढ्न सक्ने बताएका हुन् ।
अध्यक्ष झाले वातावरण संरक्षणमा पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै जिल्लाका पत्रकारलाई नागरिकलाई सचेत गराउने र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने समाचार लेख्न आग्रह गरे ।
उनले भने, “सिमल र सनपाटका रुख हराउँदै छन्, खरका छानो लोप भएका छन्, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोग बढेको छ, खेतबारीमा रासायनिक मलको मात्र प्रयोग हुँदा माटोको उत्पादन शक्ति घट्दै गएको छ । यस्ता विषयमा पत्रकारले कलम चलाउन जरुरी छ ।”
झाले समाजमा विद्यमान लैंगिक हिंसा र विभेदका विषय उजागर गर्न पत्रकारलाई आह्वान गर्दै समस्या सतहमा ल्याउन सक्ने पत्रकार नै जिम्मेवार र प्रभावकारी ठहरिने बताए ।

उक्त तालिम सुनौलो सिसौट नेपालको आयोजनामा, नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वय र इन्टरनेशनल एलर्टको सहयोगमा आयोजित गरिएको थियो ।
कार्यक्रममा इन्टरनेशनल एलर्टकी एशिया डाइरेक्टर रविना श्रेष्ठ, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुणप्रताप सिंह, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।
