सर्लाही, २९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले चुनाव प्रभावित नुहने गरी काम गर्न पनि सरकारलाई आग्रह गरे । पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिए ।
सो अवसरमा राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुशील कार्कीले परिषद्को आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
