सर्लाही, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूरुकोे फरक मत पार्टी विभाजनको लागि नभएको बताएका छन् । उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधान विपरीत भएको कार्यलाई सच्याउन आफूहरु लागिपरेको उनको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने मतभेदहरुलाई आन्तरिक रुपमा सल्ट्याउन नसक्दा आफूहरु निर्वाचन आयोगसम्म पुगेको बताए । ‘हामी विभाजनको संघारमा छैनौँ । पार्टीभित्र केही मतभेदहरु छन् । एउटा जीवन्त पार्टीभित्र मतभेदहरु हुन्छन् । त्यसलाई बसेर सल्ट्याउन पनि सकिन्छ । बसेर सल्ट्याउन नसकेपछि निर्वाचन आयोगमा गएको हो ।’ उनले थपे, ‘पार्टीलाई विभाजन गर्ने हाम्रो कुनैपनि विचार छैन । एकलौटी रुपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने हाम्रो धारणा हो । यो विभाजन भएको होेइन, विधानको विपरीत जुन कार्यहरु भए, विद्यानको उल्लङ्घन भएकोलाई हामीले सच्याउन हो । विभाजन गर्ने मनस्थितिले यो भएको होइन । विभाजनतिर पार्टीलाई लग्ने कुनै पनि हाम्रो सोच छैन ।’
महामन्त्री जबराले पार्टी नेतृत्वले विधान विपरीत गरेका कारबाही, पदमुक्तिहरुलाई पुनरबहाली गर्ने दाबी गरे । पार्टीको विधान विपरीत सामान्य स्पष्टीकरण समेतको मौका नदिइकन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेताहरुलाई कारबाही गरेको भन्दै धबल शम्शेरसहितका नेताहरु विरोधमा छन् ।
