सर्लाही, २० पुष । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको विभत्स ढङ्गले हत्या भएको छ। परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो ।

घरदेखि करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको नभएको अवस्थामा महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि चौकीदार महतो साइकल चढेर त्यसतर्फ गएका थिए । तर दिउँसोसम्म पनि उनी घर नफर्किएपछि र फोनसमेत ‘स्वीच अफ’ देखिएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरेका थिए ।

खोजीका क्रममा जंगलभित्र टाउको काटिएको अवस्थामा महतोको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । घटनास्थलमै रहेका कार्कीका अनुसार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ, यद्यपि यसबारे प्रहरीबाट आधिकारिक पुष्टि भने गरिएको छैन ।

घटनाको अनुसन्धानका लागि धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर घटनास्थल वरपर परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख तथा सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार हत्या भएको स्थान नजिकै पोखरी रहेको र मृतकको टाउको नभेटिएकाले पोखरीमा जाल हानेर खोजी गर्ने तयारी भइरहेको छ ।

“शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने सबै प्रक्रिया पूरा भइसकेको छ तर टाउको नफेला पर्दा समस्या भएको छ,” डिएसपी राईले बताए, “अब पोखरीमा जाल हानेर टाउको खोज्ने तयारीमा छौँ ।”

जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का बिदामा रहेकाले निमित्त प्रमुख डिएसपी राई, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर नितेशकुमार सिंहलगायत प्रहरी अधिकारीहरू दिउँसोदेखि घटनास्थलमै खटिएर अनुसन्धानमा जुटिरहेका छन् ।

सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राईटरखोर क्षेत्रमा एक्लै वन रक्षकको काम गर्दै आएका महतोको हत्या अत्यन्तै निर्मम र अमानवीय किसिमले भएको बताए ।

वनका चौकीदारको यसरी विभत्स हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । शीतलहरकै बीच गाउँ नजिकैको जंगल क्षेत्रमा ठूलो संख्यामा स्थानीय भेला भई घटनाबारे चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रहरीले घटनामा संलग्न व्यक्ति पहिचान र टाउको फेला पार्न अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *