सर्लाही, १४ बैशाख । भारतबाट घर फर्किरहेका नेपाली सीमावर्ती क्षेत्रमा लुटिएका छन् ।

बरेलीबाट फर्किरहेका दैलेखको भैरवी गाउँपालिका–२ का ३१ वर्षीय रामसिंह थापा र उनकी श्रीमती रेश्मा विष्टसँग रहेको ४० हजार रुपैयाँ भारु लुटपाट भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सँगै फर्किरहेका तीन जना नेपालीले चिसो पेय पदार्थमा बेहोस हुने पदार्थ खुवाएर  लुटपाट गरेको प्रहरीले जनाएको छ ।

रामसिंह र रेश्माको साथमा ६ वर्षीया छोरा प्रवेश पनि सँगै रहेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।

डाँगीका अनुसार बरेलीबाट टीकापुर भएर घर फर्किरहेका उनीहरू सँगै आएका तीन जनाले तिकुनीया पुगेपछि जंगलको छहारीमा बसेर एकै साथ चिसो पेय पदार्थ खाएका थिए ।

तर थापाको परिवारलाई दिएको पेय पदार्थमा बेहोस् हुने पदार्थ मिसाएर लुटपाट भएको उनले बताए ।

भारतीय जंगल क्षेत्रमा नेपाली नागरिक बेहोस रहेको सूचना पाएपछि भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूको उद्दार गरेर टीकापुर ल्याइएको छ ।

अहिले तीनै जनाको टीकापुरमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था भने समान्य रहेको डीएसपी डाँगीले बताए ।

लुटपाटमा संलग्नहरूको भने पहिचान हुन सकेको छैन । उनीहरू लुटपाट गरेर भारततर्फै भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *