सर्लाही, ३१ जेठ । समकक्षी वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीनको चारदिने औपचारिक भ्रमणमा जाँदै छन् ।

मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबिच सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ । दक्षिणी छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्रमन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्रमन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टीका नेता, चिनियाँ उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्लाबेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल २१ फागुनको निर्वाचनपछिको राजनीतिक शक्तिसन्तुलको सन्देशसमेत बोकेर चीन जाँदै छन् ।

खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत छन् । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनीतिक विश्वास अभिवृद्धि गर्न चाहेको बताएका छन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले बिआरआई प्राथमिकता पनि सुनाएका छन् । 

‘चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ र यो भ्रमणलाई नेपालको नयाँ सरकारसँग राजनीतिक विश्वास वृद्धि गर्न, व्यावहारिक सहयोगलाई थप घनीभूत बनाउन र चीन र नेपालबिचको रणनीतिक साझेदारीलाई प्रवर्द्धन गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतका परियोजनालाई संयुक्त रूपमा समयमै निर्माण गर्ने अवसरका रूपमा प्रयोग गर्न चाहन्छ,’ प्रवक्ता जियानले भनेका छन् ।

उनले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको निरन्तर पालना गर्दै आएको बताए ।

‘आफ्ना स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता रक्षाका लागि आपसमा दुवै देश सहयोगी साबित भएका छन्,’ उनको भनाइ छ । 

नेपालमा निर्धारित समयमै गत २१ फागुनमा चुनाव सफलतापूर्वक सम्पन्न भएको छ र नयाँ सरकार बनेको उनले उल्लेख गरेका छन् । ‘चीनले यस उपलब्धिका लागि नेपाललाई बधाई दिइसकेको छ ।

चीन नेपालमा एकता, स्थिरता र समृद्धि हासिल होस् भन्ने चाहन्छ र त्यसका लागि सधैँ चीनको साथ समर्थन छ,’ प्रवक्ता जियानले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *