सर्लाही, १३ असार । चालु आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समयसीमा १२ दिनमात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको ३५ प्रतिशत पनि खर्च गर्न सकेको छैन ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ ।
यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ । जस अनुसार असार २५ गते राती १२ बजेदेखि खाता बन्द गर्नुपर्छ ।
तर महालेखा नियन्त्रक कार्यालयकाअनुसार संघीय सरकारले शुक्रवार बेलुका सम्ममा विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । जुन लक्ष्यको ३४ दशमलव ८७ प्रतिशत हो ।
चालु आर्थिक वर्षका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य छ । सरकारले कर्मचारीको तलवभत्ता, कार्यालय संचालन लगायतमा खर्च हुने चालु तर्फ ८० दशमलव ४२ प्रतिशत र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने ८३ दशमलव ४१ प्रतिशतखर्च गरिसकेको छ ।
कूल सरकारी खर्चतर्फ भने १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख बराबर पुगेको छ । यो कूल लक्ष्यको ७१ दशमलव ५३ प्रतिशत हो । सरकारले हिजो एकैदिन पाँच अर्ब ३६ करोड ८२ लाख खर्च गरेको थियो ।
यसैबीच चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार हिजोसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको हो । अब लक्ष्य भेटाउन दैनिक झण्डै १९ अर्ब ३४ करोड रुपैयाँ बराबर सङ्कलन गर्नुपर्ने हुन्छ ।
