सर्लाही, १४ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलन आयोजना गरेको छ । 

औषधीजन्य वनस्पति सजीवनको खेती विस्तार र यसको गुणबारे प्रचारप्रसार गर्ने उद्देश्यले सजिवन सम्मेलन आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

चन्द्रनगर गाउँपालिका–२, पर्ती बजारमा शनिबारदेखि सुरु भएको सजिवन सम्मेलन आइतबारसम्म सञ्चालन हुने छ । 

“स्वास्थ्य, सुपोषित, समृद्ध र सुन्दर परिवारको लागि सजिवन देश, हरित अर्थतन्त्र, पर्यावरण र प्रकृतिका लागि सजिवन भन्ने मूल नारासहित चन्द्रनगर गाउँपालिकाले सम्मेलनको आयोजना गरेको हो ।” सजिवन खेतीको विस्तार र यसको उपयोगिताबारे बुझाउन चन्द्रनगर गाउँपालिकाले वर्सेनि अभियान सञ्चालन गर्दै आइरहेको छ । 

गाउँपालिकाले स्थानीयलाई निःशुल्क रुपमा सजिवनको विरुवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ । चन्द्रनगर गाउँपालिका–६, गोसबरियाका सुवोधकुमार कर्णले गाउँपालिकाबाट निःशुल्क रुपमा विरुवा लिएर २५० भन्दा बढी सजिवनको विरुवा रोपेको बताउनुभयो । 

आफूले सजिवनको पातबाट पाउडर बनाएर उपयोग गर्न थालेपछि स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको कर्णको भनाइ छ ।

आफूले उत्पादन गरेको सजिवनको पाउडर गाउँघरमा थोरै मात्रामा बिक्रीसमेत हुन थालेको र बजारीकरणका लागि थप सहयोग पुगे आम्दानीको राम्रो स्रोत बन्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

गाउँपालिकाबाट निःशुल्क विरुवा पाएपछि कर्णजस्तै चन्द्रनगरका थुप्रै स्थानीयले आफ्नो घरआँगन तथा करेसा र खेतबारीमा सजिवनको विरुवा रोपेका छन् । यसको उपयोग पनि बढ्न थालेको छ। 

सम्मेलनमा सहभागी ईश्वरपुर नगरपालिका–११, का वीरेन्द्र साहले सजिवनबारे गाउँगाउँमा व्यापक प्रचारप्रसारको खाँचो औँल्याउनुभयो ।

सम्मेलनमा शनिबार मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, कोशी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मधेश प्रदेशका पूर्व अर्थ सचिव किरण रुपाखेती, सजिवन अभियन्ता हेमन्तराज काफ्लेलगायतले सजिवनको फाइदा र यसको खेतीको सम्भाव्यताबारे प्रस्तुतिकरण दिनुभएको छ । 

सम्मेलनमा सातवटै प्रदेशबाट विद्यार्थी, सजिवन अभियन्ता, व्यवसायीलगायत सहभागी भएका चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साले जानकारी दिनुभयो । कार्यक्रममा व्यवसायीले सजिवनबाट बनाइएको औषधिजन्य वस्तु बिक्रीका लागि राखेका छन् । 

कार्यक्रमका सहभागीलाई सजिवनको विभिन्न परिकार चखाउने कामसमेत गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । सजिवन अभियन्ताका अनुसार सजिवनमा भिटामिन ए, सी र इ, पोटासियम, आइरन, कुपोषण न्यूनिकरण, रक्तचाप नियन्त्रण, मधुमेह व्यवस्थापन, पाचन सुधार, जोर्नी दुखाइ कम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउनेजस्ता गुण रहेको हुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *