सर्लाही, २४ असार । नेपालमा उत्पादन भएका चिकित्सकलाई देशमै टिकाउन नसक्ने अवस्थामा राज्य पुगेको सरकारी तथ्यांकले उजागर गरेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकले चिकित्सक पलायन भयावह बन्दै गएको देखाएको हो ।
सन् २०२५ मा नेपालमा चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिने चिकित्सकभन्दा विदेश जान आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ क्यारेक्टर सर्टिफिकेट) लिने चिकित्सकको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।
चिकित्सा शिक्षा अध्ययन पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलबाट प्रत्येक वर्ष करिब दुई हजार चिकित्सकले चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) लिने गरेका छन् । तर गत वर्ष नेपालमै सेवा गर्ने उद्देश्यले लाइसेन्स लिनेभन्दा विदेश जाने तयारीमा काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिने रहेका चिकित्सकको संख्या उल्लेख्य देखिएको छ ।
यसले नेपालमा चिकित्सक उत्पादन बढे पनि उनीहरूलाई देशमै टिकाउन राज्य पूर्ण रूपमा असफल भएको देखाउँछ ।
काउन्सिलका अनुसार सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकीय लाइसेन्स लिएका छन् । तर सोही अवधिमा विदेशमा अध्ययन वा रोजगारीका लागि आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र’ दुई हजार ६८१ जना चिकित्सकले लिएका छन् । अर्थात्, लाइसेन्स लिनेभन्दा विदेश जाने तयारी गरेका चिकित्सक ५५९ जना बढी छन् ।
चिकित्सा शिक्षामा वर्षेनी अर्बौं रुपैयाँ लगानी गरी दक्ष जनशक्ति उत्पादन भइरहे पनि उनीहरूलाई आकर्षित गर्ने सेवा–सुविधा, सुरक्षित कार्य वातावरण, वृत्ति विकासका अवसर र सम्मानजनक पारिश्रमिकको अभावका कारण चिकित्सकहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार पछिल्ला पाँच वर्षमा चिकित्सक पलायन निरन्तर उकालो लागेको छ । सन् २०२० यता १३ हजार १४० जनाले चिकित्सकीय लाइसेन्स लिए पनि तीमध्ये ११ हजार ६८ जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिइसकेका छन् ।
नेपालमा दर्ता रहेका चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिनुपर्छ ।
विदेशी नियामक निकायमा दर्ता हुन आवश्यक पर्ने गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका सबै व्यक्ति विदेश नै जान्छन् भन्ने चाहिँ हुँदैन । काउन्सिल अधिकारीका अनुसार असल चारित्रिक प्रमाणपत्र लिएकामध्ये ७० प्रतिशत बढी विदेश गएको अनुमान छ ।
