सर्लाही, १८ साउन । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको छ भने सीमा क्षेत्रमा तनाव बढेको छ ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाक र हतियारसहित करिब ६० जना भारतीय एसएसबी सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा नेपाली भूमिमा प्रवेश गरेका थिए । उनीहरूले त्यहाँ निर्माण भइरहेको १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको भनाइ छ ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएका हुन् । स्थानीयले त्यसको विरोध गर्दै रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएकाले रोक्न नसकिएको उनले बताए ।
यसअघि पनि गत असार महिनामा भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएको स्थानीयको भनाइ छ । त्यसबेला पनि निर्माण कार्य केही समयका लागि रोकिएको थियो ।
स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले समय-समयमा धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक-पटकको हस्तक्षेपका कारण सुस्ता क्षेत्रमा सीमा विवाद दोहोरिँदै आएको छ ।
भारतीय पक्षले निर्माणाधीन बाँध भत्काएको घटनापछि अप्रिय अवस्था सिर्जना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल घटनास्थलमा परिचालन गरिएको छ ।
