सर्लाही, २३ साउन । हाल बागमती प्रदेशका थोरै स्थान तथा कोसी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम महाशाखाले आज (शुक्रबार) राति ९:३२ बजे जारी गरेको सूचनाअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पुगाउँमा ३७.४ मिलिमिटर वर्षा भएको छ ।
मौसम महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली/पहाडी भूभागको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली/पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भने आज राति भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो ।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन् ।
