सर्लाही, ०६ भदाै । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन् । 

शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठत समन्वय संयन्त्र कार्याशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार विदेशीको आडभरोसमा चलेको आरोप लगाए । ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन । यी तत्त्वहरूसँग हामी डराउँदैनौँ, डराउनुहुन्न,’ ओलीले भने । 

उनले हाटहुट गरेर बहुमत ल्याइएको दाबी गरे। बहुमत भए पनि बालेन सरकार पाँच वर्ष नटिक्ने उनको दाबी थियो । 

‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो,’ अध्यक्ष ओलीले थपे, ‘यो सरकार तपाईंहरूलाई भन्दिएँ- पाँच वर्ष कुनै हालतमा जाँदैन ।’

अहिले संविधान मिचिएको उनको भनाइ थियो । लोकतन्त्रलाई फिर्ता ल्याउनुपर्नेमा उनले जोड दिए । ‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ,’ ओलीले भने । 

सरकार र समर्थकहरूले त्रास सिर्जना गरिरहेको उनको जिकिर छ । सामाजिक सञ्जालमा बोल्दा हुल्याहाहरूले आक्रमण गरिरहेको उनले बताए । 

‘हरेकको मनमा त्रास छ । एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ, त्रास छ,’ ओलीले थपे, ‘सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन । हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ ।’

उनले सत्य कुरा बोल्न डराउन नहुने बताए । सत्यका पक्षमा, जनताका पक्षमा, जनजीविकाका पक्षमा बोल्न निर्देशन दिए । 

एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रले कार्याशाला आयोजना गरेको हो । कार्यशालामा एमाले जनसम्पर्क समन्वय संयन्त्रका नेता तथा कार्यकर्ता सहभागी छन्। यो कार्याशाला दुई दिनसम्म चल्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *