लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

Byसदाम हुसैन

२०८३ आश्विन ६, मंगलवार २०८३ आश्विन ६, मंगलवार २०८३ आश्विन ६, मंगलवार

सर्लाही, ०६ असाेज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने बताएका छन् । 

ग्राहकलाई प्रदान गर्ने गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै निर्माण सम्पन्न पूर्वाधारको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्‍याउन प्राधिकरण लागि पर्नेमा पनि उन जोड दिएका छन् । 

सर्लाहीको विद्युत् आपूर्ति सुदृढ गर्न निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन तथा सलेमपुर सबस्टेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

आयोजनाअन्तर्गत नवलपुरदेखि सलेमपुरसम्म १९.९२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन तथा कुल ८४ एमभीए क्षमताको १३२र३३र११ केभी सलेमपुर सबस्टेसन निर्माण गरिएको छ । 

प्रसारण लाइन २०८३ साउन २९ गते चार्ज गरिएको थियो भने मलंगवा ३३ केभी फिडर २०८३ भदौ ३० गते सञ्चालनमा ल्याइएको हो । उक्त फिडर सञ्चालनमा आएपछि सलेमपुर सबस्टेसनबाट करिब १८ मेगावाटसम्म विद्युत् आपूर्ति भएको छ ।

मलंगवा फिडर सञ्चालनमा आएसँगै सर्लाही क्षेत्रमा यसअघि करिब २७ केभी रहेको भोल्टेज सुधार भई करिब ३२ केभी पुगेको छ । 

सलेमपुर सबस्टेसनबाट मलंगवा, हरिपुर, हरिपुर्वा, गरैया–डुमरिया र बरहथवा क्षेत्रलाई सेवा दिने गरी ३३ केभी फिडरहरूको व्यवस्था गरिएको छ । 

जसबाट जिल्लाको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *