असोज ९ र १० गते मुलुकभर उच्च जोखिम, चेतावनी सार्वजनिक

Byसदाम हुसैन

२०८३ आश्विन ८, बिहीवार २०८३ आश्विन ८, बिहीवार २०८३ आश्विन ८, बिहीवार

सर्लाही, ०८ असाेज । आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी असोज ९ गते शुक्रबार र १० गते शनिबार भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको हो । महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्सा अनुसार, आगामी चार दिन देशभर मौसमी जोखिमको स्तर फरक-फरक रहनेछ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको जोखिम कम रहे पनि बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका धेरैजसो भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

वर्षाको मुख्य जोखिम असोज ९ गते शुक्रबारदेखि सुरु हुने चेतावनी नक्साले देखाउँछ। शुक्रबारका दिन पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने चेतावनी दिइएको छ । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका मध्य तथा हिमाली/पहाडी क्षेत्रमा अति भारी वर्षाको उच्च जोखिम रहनेछ ।

यस्तै, असोज १० गते शनिबार वर्षाको जोखिम पश्चिमतिर सर्नेछ। शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा ‘अति सतर्कता’ अपनाउन चेतावनी दिइएको छ ।

सो दिन देशका बाँकी पश्चिमी तथा मध्य क्षेत्रहरूमा पनि सतर्क रहनुपर्ने छ भने पूर्वी भूभागमा भने वर्षाको प्रभाव केही घट्दै जाने अनुमान गरिएको छ ।

असोज ११ गते आइतबारदेखि भने मौसमी जोखिम क्रमशः कम हुँदै जानेछ । आइतबार देशका पश्चिमी भूभागमा सामान्य सतर्कता अपनाउनु पर्ने छ भने पूर्वी भूभागमा वर्षाको खासै जोखिम नरहने महाशाखाले उल्लेख गरेकाे छ ।

अविरल र भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो, भू-क्षय तथा तराई र शहरी क्षेत्रमा डुबान र बाढीको उच्च जोखिम रहने भएकाले महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ । विशेष गरी असोज ९ र १० गते यात्रा गर्दा मौसमी अवस्था बुझेर मात्रै निस्कन जल तथा मौसम विज्ञान विभागको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *