सर्लाही, ०८ असोज । मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि उच्च सतर्कतामा राखिएको छ । सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ राखिएको छ । आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्भावित जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिइसकिएको उनले बताए ।
‘जोखिम र अति जोखिमयुक्त क्षेत्र पहिचान गरेर सबै निकायसँग समन्वय गरी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ डीआईजी अधिकारीले भने, ‘हाम्रो मुख्य ध्यान अधिकतम सतर्कता अपनाएर जनधनको क्षति हुन नदिनुमा केन्द्रित छ ।’
उनका अनुसार राजमार्गका निर्माणाधीन पुल, सडक तथा जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै विशेष निगरानी गर्न निर्देशन दिइएको छ। साथै, प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज र जनकपुरलाई पनि उद्धारका लागि तम्तयार राखिएको छ ।
यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समन्वयसहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ। बैठकले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न तीनवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको छ ।
रौतहटदेखि सप्तरीसम्म बाढी र डुबानको उच्च जोखिम
मधेश प्रदेशमा रौतहट बाढी तथा डुबानको दृष्टिले सबैभन्दा बढी जोखिममा रहेको जिल्ला मानिन्छ । बागमती र लालबकैया नदीमा आउने बाढीका कारण सदरमुकाम गौर नगरपालिकासहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुर नगरपालिकाका तटीय बस्तीहरू हरेक वर्ष प्रभावित हुने गरेका छन् ।
धनुषामा कमला, जलाद र औरही नदीमा बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, सहिदनगर, कमला र विदेह नगरपालिका जोखिममा पर्ने गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा भने ढल तथा निकासको अभावका कारण सहरी डुबानको समस्या देखिने गरेको छ ।
सिरहा र सप्तरी पनि उच्च जोखिममा छन्। सिरहामा कमला, बलान र स्थानीय खहरे खोलाको बाढीले सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुने गर्छन् । सप्तरीमा सप्तकोशी नदीका साथै खाँडो, महुली, जिता र बलान खोलाका कारण हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका बस्ती डुबानको जोखिममा छन् ।
त्यसैगरी, सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीका कारण बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र जोखिममा पर्ने गरेका छन् ।
महोत्तरी, बारा र पर्सामा भने मुख्य रूपमा चुरे क्षेत्रबाट बग्ने खोलामा आउने आकस्मिक बाढी र कटानको त्रास छ। महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीको कटानले जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्र प्रभावित हुने गरेका छन् । बारामा पसाहा, दुधौरा, बालगङ्गा र तिलावे नदीको आकस्मिक बाढीले कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्र तथा परवानीपुर र देवताल गाउँपालिका जोखिममा छन् ।
पर्सामा ओरिया नदीको कटानले जगरनाथपुर र धोबिनी गाउँपालिका तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण वीरगन्ज महानगर र पोखरिया नगरपालिकाका केही क्षेत्र डुबानमा पर्ने गरेका छन् । चुरे क्षेत्रको निरन्तर दोहनका कारण खोलामा ढुङ्गा-बालुवा थुप्रिँदा सामान्य वर्षामा पनि लेदोसहितको बाढी बस्तीमा पस्ने जोखिम बढेको सुरक्षा निकायको विश्लेषण छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको गहिरो न्यून चापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर-पश्चिमतर्फ सरिरहेकाले नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो ।
यस प्रणालीका कारण कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
