सर्लाही, ०८ असाेज । पर्सास्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम दिएको छ ।
बिहीबार कलेजले सूचना प्रकाशित गरेर स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकलाई १२ घण्टाभित्र छात्रावासका कोठा तथा क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न भनेको छ ।
आवासीय चिकित्सकहरू एक सातादेखि आन्दोलनमा उत्रिएपछि कलेजका प्राचार्य र होस्टल सुपरिटेन्डेन्टले सूचना जारी गरी कलेज खाली गर्न निर्देशन दिएका हुन् ।
यससँगै कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई शैक्षिक सत्र २०८२ का स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकलाई फिर्ता बोलाउन पनि आग्रह गरेको छ । आईओएमलाई औपचारिक पत्र पढाइसकेको पनि सूचनामा उल्लेख छ ।
आवासीय चिकित्सकलाई आफ्नो जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास र प्रशासन कार्यालयमा बुझाउन भनिएको छ ।
‘सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई यो सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको सम्बन्धित आवासीय चिकित्सकहरूले तोकिएको अवधिभित्र आवश्यक हस्तान्तरण प्रक्रिया पूरा गरी आवासीय परिसरबाट आफ्ना व्यक्तिगत सामानसमेत हटाउनुपर्नेछ,’ कलेजले सूचनामा भनेको छ ।
आवासीय चिकित्सकले प्रथम वर्षका सात जना चिकित्सकविरुद्ध दायर गरिएको मुद्दा तत्काल फिर्ता लिनुपर्ने, प्रसूति तथा स्त्रीरोग विभागका तीन जना चिकित्सकमाथिको कारबाही खारेज गरी रोकिएको तलब फिर्ता गर्नुपर्ने तथा नेपाल सरकारसँगको सम्झौताअनुसार आठौँ तहको तलब समयमै भुक्तानी हुनुपर्ने माग राखेका छन् ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय र चिकित्सा शास्त्र अध्ययन संस्थानको सिफारिश अनुसार २४ घण्टे ड्युटी हप्तामा बढीमा दुई पटकमा सीमित गरी ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
यससँगै हाजिरी तथा बिदाका नाममा हचुवाका भरमा भत्ता र तलब काट्ने गैरकानुनी प्रक्रिया बन्द गर्न माग गर्दै उनीहरू आन्दोलनमा छन् ।
