सर्लाही, १३ असोज । बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा मंगलबार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।
यसअघि शनिबार ताराखोला गाउँपालिकामै पहिरोमा परी एकजनाको मृत्यु भएको थियो । यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु हुनुका साथै एकजना बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो ।
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएको प्रहरीले जनाएको छ ।
