सर्लाही, २० असोज । निर्वाचन आयोगले नेपालमा भविष्यमा इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा आवश्यक प्राविधिक, संस्थागत र साइबर सुरक्षा तयारी अघि बढाउने भएको छ ।
आयोगको आयोजनामा मंगलबार ‘इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम’मा इन्टरनेट मतदान प्रविधि, प्रणालीको कार्यप्रक्रिया, साइबर सुरक्षा तथा कार्यान्वयनका विभिन्न पक्षबारे विज्ञहरूले प्रस्तुतीकरण गरेका थिए ।
नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा र बेलायतबाट सहभागी विज्ञहरूले आधुनिक इन्टरनेट मतदान प्रणालीको प्राविधिक संरचना, सुरक्षा, सञ्चालन तथा प्रयोगका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा इन्टरनेट मतदानको दिशामा अघि बढ्ने बताए । उनले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि प्रविधिगत तयारीसँगै संस्थागत क्षमता विकास, साइबर सुरक्षा र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
