काठमाडौँ, २८ कार्तिक । भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना फिर्ताका लागि दुई सर्त राखेको छ ।
बीबीसी बंगलाको रिपोर्टअनुसार भारतको पहिलो सर्त हो- हसिनालाई फिर्ता लान बंगलादेश सरकारले नै सैन्य विमान नयाँ दिल्ली पठाओस् । जसरी विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्ट ५ मा हसिना बंगलादेशबाट हेलिकप्टर चढेर भारत आएकी थिइन् ।
यस्तै दोस्रो सर्त हो- बंगलादेश सरकारले हसिनालाई मृत्युदण्ड फैसलाविरुद्ध पुनरावेदन गर्ने ग्यारेन्टी गरोस् ।
द टाइम्स अफ इन्डियाले भारत, हसिनालाई स्वदेश फर्काउन इच्छुक रहेको उल्लेख गरेको छ ।
कारण हो- हसिनाको निरन्तर बसाइ भारत सरकारका लागि लज्जास्पद मुद्दा बन्दै गएको छ । यसले दुई देशबिचको सम्बन्धमा पनि असर गरिरहेको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि आलोचना भइरहेको छ ।
त्यसो त हसिनाले पनि आगामी डिसेम्बर बंगलादेश फर्किने योजना रहेको बताइरहेकी छन् । यसका लागि उनले दूतावासमार्फत आवेदन दिँदै बंगलादेशसँग नयाँ पासपोर्ट मागेकी पनि थिइन् । तर बंगलादेशले मृत्युदण्ड सुनाइएकी हसिनालाई पासपोर्ट दिन नमिल्ने बताएको छ ।
बरु बंगलादेश फर्किइन् भने फैसलाअनुसार मृत्युदण्ड दिइने चेतावनी दिइएको छ ।
विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै हसिना हसिना २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भारत भागेकी थिइन्। त्यसयता उनी भारतमै लुकेर बसेकी छन् ।
हसिनाले बंगलादेश छाडेपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले उनको कागजात रद्द गर्यो ।
अगस्ट २०२४ मा सत्ताबाट हट्नासाथ उनको कूटनीतिक राहदानी तथा जनवरी २०२५ मा साधारण राहदानी पनि रद्द गरिएको थियो ।
यसपछि अप्रिल २०२५ मा निर्वाचन आयोगले उनको राष्ट्रिय परिचयपत्र रद्द गरिदियो ।
१७ नोभेम्बर २०२५ मा ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना सरकारले दमन गर्दा १,४०० जनाको मृत्यु भएको थियो ।
यद्यपि हसिनाले आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गरेकी छन्। उनले अदालतको फैसलालाई पनि राजनीतिक बदला भनेकी छन् ।
