सर्लाही, २० पुष । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जसपा नेपालमा प्रवेश गरेका हुन् ।
यादवलाई जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिनोद यादव यसअघि किसान महासंघका केन्द्रीय महासचिव समेत रहिसकेका अनुभवी नेता हुन् । पार्टी प्रवेशपछि बोल्दै उनले नेकपा एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाए ।
मधेशको हकहित, अधिकार र किसानका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमा पुनः आफू आबद्ध भएको यादवले बताए ।
यसैगरी, जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य राम विश्वास रायले पनि जनमत पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।
रायलाई समेत जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका हुन् ।
राम विश्वास रायले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवारी दिँदै करिब ४२ सय मत प्राप्त गरेका थिए ।
मधेशकेन्द्रित मुद्दा, समावेशिता र सामाजिक न्यायको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक मंच भएको भन्दै आफूले पार्टी परिवर्तन गरेको रायले बताए ।
जसपा नेपालले यी दुवै नेताको पार्टी प्रवेशसँगै संगठन थप सुदृढ हुने र किसान तथा मधेशी मुद्दामा पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेको छ।
