सर्लाही, ३१ जेठ । सर्लाहीको बागमती नगरपालिका–९ स्थित निर्माण चोकमा टोचनमार्फत तानिँदै गरेको ईभी हाईसले दुई जना पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमका अनुसार आइतबार बिहान करिब ६:१० बजे बरहथवाबाट निर्माण चोकतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले बिग्रिएको बा.प्र.०३–००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई टोचनमार्फत तानेर ल्याइरहेको अवस्थामा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा बागमती नगरपालिका–९ निवासी ५५ वर्षीया जयकुमारी देवी र बागमती नगरपालिका–१० निवासी ४० वर्षीया पुनमदेवी यादव घाइते भएका थिए ।
दुवैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया, बाराका चिकित्सकले मृत घोषणा गरेका छन् ।
गम्भीर घाइते पुनमदेवी यादवको राजलक्ष्मी अस्पताल, कलैयामा उपचार भइरहेको डिएसपी गौतमले जानकारी दिए ।
घटनापछि ईभी हाईस चालक हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन पनि नियन्त्रणमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
