सर्लाही, २३ असोज । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांशसहित कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्ने जनाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले सात अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर छ खर्ब दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, सोही अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको वासलातको आकार पनि आर्थिक वर्ष २०८२/८३ मा १५.३८ प्रतिशतले वृद्धि भएर सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । बैंकले समीक्षा वर्षमा निक्षेप संकलन, कर्जा प्रवाह तथा समग्र वित्तीय कारोबार विस्तार गरेको जनाएको छ ।
साधारणसभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए ।
बैंकले देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायत विभिन्न सरोकारवालाको अधिकार र चासोको कदर गर्दै सजग र सन्तुलित व्यवहारका साथ काम गर्दै आएको उनको भनाइ थियो ।
बैंक सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले सबै सरोकारवालासँगको सम्बन्धलाई महत्त्व दिँदै बैंकिङ सेवा प्रवाह गरिरहेको बताए । बैंकले संस्थागत मूल्य, सुशासन र ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर आफ्ना गतिविधि अघि बढाउँदै आएको उनले उल्लेख गरे ।
नबिल बैंक स्थापना हुँदाको तुलनामा हाल चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको जनाइएको छ । बैंकको ४२औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ ।
नबिल बैंकले देशभर २६२ शाखा तथा ३१६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार हाल २८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिइरहेका छन् । बैंकले आफ्ना शेयरधनी, ग्राहक, कर्मचारी, नियमनकारी निकाय तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै आगामी दिनमा पनि सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङ सेवाको विस्तारमा जोड दिएको छ । यसै क्रममा बैंकले डिजिटल बैंकिङ सेवाका लागि एनबैंक सञ्चालनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई थप विस्तार गर्दै ग्राहकलाई सहज र आधुनिक सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
बैंकले सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि तयार बैंक बन्ने लक्ष्यसमेत अघि सारेको छ । यसका लागि बैंकले आफ्नो दृष्टिकोण तथा लक्ष्यसम्बन्धी वक्तव्य (भिजन–मिसन स्टेटमेन्ट) मा समेत परिवर्तन गरेको जनाएको छ ।
बैंकले पञ्चतत्त्वमा आधारित पाँच ‘टी’ अर्थात् ट्रस्ट (विश्वास), ट्रान्सपरेन्सी (पारदर्शिता), ट्यालेन्ट (प्रतिभा), टेक्नोलोजी (प्रविधि) र ट्रान्सफर्मेसन (रूपान्तरण) को अवधारणालाई अघि बढाएको छ ।
नबिल बैंकले वार्षिक साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहकवर्ग, बैंकका कर्मचारी तथा अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।
